‘धोती’ मनोविज्ञान !

परिक्षकले तालिमको सिलसिलामा दुईवटा सामान्य कुराहरुको परिकल्पना गर्न भने र सबैको उत्तर सुन्दै चित्र कोर्न थाले- एउटा इन्डियनको र अर्को डाक्टरको। सबैको कल्पनामा एउटा कुराको एकरुकता थियो, कल्पनाको डाक्टरको लिंग पुरुस र इन्डियनले धोति लगाएको र बाकस बोकेको बन्यो ! अनि उन्ले व्यंगात्मक प्रश्न गरे, “खोइ त अमिताब बच्चन र सहारुख खान ? खोई महिला इन्डियन वा महिला डाक्टर ?” हामी गलल्ल हाँस्यौं। अमिताब बच्चन त टिभीमा पो ! गल्लामा बस्ने मोहम्मद सफी पो इन्डियन! सहारुख खान, टाटा, बिरला, बिपासा, दिपिका, मेरी कोम, भाइचुंग, कल्पना चावला, अब्दुल कलाम होइन “चटपटे” पो इन्डियन! दिमाग भित्र समिर र सुधाम्सु सजिलै डाक्टर हुदै गर्दा “दृस्टी”मा अन्जना र रेणुका किन आउंदैन? के यो हामी युवा भित्र पनि जड बनेर बसेको हुन सक्ने महिला पुरुस बीचको असमान सोचको विम्ब हुन सक्छ? सतकका सतक जडेका हेरेर दङ्ग पर्ने वा रिस उठ्ने बिराट कोहलीले किन हाम्रो दिमागको भारतीयको बिम्ब परीवर्तन गर्न नसकेको होला? यो सामान्य प्रस्नको सामान्य उत्तर पक्कै पनि छैन। दुर्भाग्य मेरो बिषय  मनोविज्ञान पनि होइन।

हामीले यही असन्तुलित समाजमा सन्तुलित हुन सिकेका हौ। धेरैलाई हाम्रो समाज सामान्य लग्नु नौलो कुरा होइन, हामी सबै यही समाजका वा पारिवारिक माहौलका प्रतिबिम्ब न हौ। यहाँ प्रचलित अन्धविश्वास, दमन, सोसन साँचै अन्याय नै हो भन्ने कुरा पनि चेतनामा आउन समय लाग्छ। हामीलाई ति असामान्य कुराहरुको यति बानि परेको हुन्छ कि ति सबै सामान्य जस्तै लाग्छन्, कुनै समय कम्लरी, वादी, बहुबिवाह आदी जस्तै।  हामीले प्रयास गरेर नयाँ चिन्तनहरु चेतनामा नल्याए सम्म वा नपुर्याए सम्म यी सबै कुरा “सामान्य” नै हुन्, यी सबै “बिस्तारै” गई हाल्छ भन्ने लाग्छ। समस्या यस्तो सुसुप्त र प्रभावकारी छ कि हामीले प्रयास गर्दा गर्दै पनि धेरै ठाउँमा चुक्छौ। हामीले आफुमा गर्ने परिवर्तन भनेकै सके सम्म नचुक्ने र चुकी हाल्यो भने पनि परिवर्तनको लागि अरुको अवसर र आफ्नो चेतना खुला राख्ने हो।

एक जाना साथीले भनेको सम्झन्छु, फुटबल खेलेर लखतरान उनि बुट खोल्दै खेलको कुरा गर्दै रहेछन्। आफ्नो खुट्टा कालो न कालो मैलो देखेर फ्याट भनेछन् “कस्तो, कामीको जस्तो खुट्टा भए छ, कुकुरलाई दिए नि खान्न होला”! मर्नु भएछ, छेउमा बिक थर गरेका साथि रहेछन्। उ अझै हिनता बोध गर्छ, “मैले जनाजान अहिले सम्म भेदभाव गरेको छैन”। हामी धेरैले गर्ने भनेको नै यस्ता कुरामा विचार गर्ने, बहस गर्ने, हिनता पनि बोध गर्ने र फेरी न दोहोराउने हो ताकी नयाँ पुस्ताको सुसुप्त दिमागमा जात, लिंग, जाती, धर्म नगाडीयोस्। तर चेतमा आउनु सजिलो काम होइन। यो आफैमा क्रान्ति भन्दा कम होइन। कति सम्म भने हिंसा छोडेर मूलधारको राजनितीमा आउन सचेत हुनु मावोवादीको १२ वर्षको क्रान्ति भन्दा ठुलो क्रान्ति हो। सामान्य भन्दा सामान्य कुरा पनि त चेतमा आउन पर्छ किन कि सोच्न विचार गर्न कहाँ सजिलो हुन्छ र। सित्तै बनाईदिएका पक्कि शौचालयलाई भंडारको रुपमा प्रयोग गरेर पाईखाना चाहीं आलीमा जाने देख्नु सुन्नु भएको नै होला। चुरोट खैनी सकेको खाँदै गर्दा टमाटरको गेडाले “किड्नी” हुन्छ भनेर तर्क गरेको पनि सुन्नु भएको होला। सबै कुरामा आफुले मात्रै चिन्तन गरेर सकिदैन तर सबैले चिन्तन गर्ने थाल्ने हो भने सचेत हुन समय पनि लाग्दैन।

हाल कसैले सामाजिक संजालमा “हुँडार”( परिचय नभएको प्रयोगकर्ता) नभै कामी, डुम, लिंडे मगर भनेर हेय विचार राखेको देखिंदैन किनकी सामाजिक संजाल यो बिषयमा सचेत छ तर भारतियहरुलाइ पो भनेको हो त भनेर द्वेचरित्र राख्दै वा हाका हाकी मधेसीमुलकाहरुलाई नै लक्षित गरेर “धोती” भनेको प्रसस्तै देखिन्छ। अझ मधेस आन्दोलन ताका त सामाजिक संजाल घिनलाग्दो नै भएको थियो। विरोधमा धेरै मधिसी साथीहरुले आफ्नो नाम पछाडी धोती नै लेखे। धोतीलाई “धोती” नभने के भन्ने वा भेलेलाई “भेले” नभनेर के भन्ने भन्नु र कामीलाई “कामी” नभनेर के भन्ने ? प्रस्न एकै थरी हुन्। यी घिनलाग्दा प्रस्नहरुको कुनै स्थान हुन नपर्ने होइन ? सामाजमा “कामि”ले तल्लो घिनलाग्दो सोसित र अपहेलितजातको प्रतिनिधत्व गर्थ्यो र सचेत सामाजिक संजालमा त्यसको हेय रुप प्रयोग हुँदैन! त्यसरी नै धोती-भेले ले पनि घिनलाग्दो कालो, धोती लागाउने, सोसित र अपहेलित नेपाली वर्गको प्रतिनिधित्व गर्थ्यो, त्यो उत्तिकै निन्दनीय हुनु पर्ने होइन ? यो अपमानको सब्द भारतीय प्रति लक्षित हो भनेर छुटकारा पाउनु हुन्न किन कि यो कलंकित सब्दको जननी हामी हौँ  र कसैको नागरिकता वा परिचय नसोधी नाम, पोसाक, भाषा, बर्ण वा कामको आधारमा “धोती” प्रहार गरिन्छ ! “धोती” हाम्रो समाजमा जडमा घुसेको अराजकता हो। काम,पोसाक, नाम वा रंगको आधारमा लामो समय गरिएको अपमानको प्रतिनिधित्व हो। राम, सिता, जनक, पाण्डव, बुद्ध, अशोक, मुगलले धोती हुनु नपर्ने तर दुख गरेर जिबिकोर्पार्जन गर्ने नाई, धुनिया, चटपटेवाला धोति हुनु पर्ने। र सम्पूर्ण मधेस यो कलंकित नामको चपेटामा आउनु पर्ने। तर हामी त उही ग्रसित समाजमा हुर्के बढेको हो, सचेतना आफै मिलेर गर्ने हो, एकले अर्कालाई सचेत गराउंदै, क्षमा माग्दै, हिनता बोध गर्दै। र मधेसले सही अर्थमा हामीलाई सम्झाउनु पर्छ, हाम्रो पनि साथ लिनु पर्छ र यो सचेत हुनेको संख्या ठुलो बनाउनु पर्छ।

सचेत मान्छे त म सानै हुँदा पनि थिए तर यो स्वरफ्तार कति ढिलो, आज म यो लेख्दै छु। स्कुलमा संगैको साथीले “ओइ धोति कापाल काट्न आइज” भनेको गुरुङ सरले सुनेछन्। हामीले कसले भन्यो नाम नखुलाएर एकता प्रस्तुत गर्यौ, गुरुङसरले सबै ८ जानालाई घुंडाको छाला जाने गरि गिटीमा २ घण्टा घुंडा टेकाए। परिवर्तन फ्याट हुने चिज त होइन तर ढिलै गरेर त पहाड पनि आफै मैदान हुन्छ, मैदान पहाडमा परिवर्तन हुन्छ, तर कुरेर बस्न सकिंदैन। अपमानको घाउ धेरै दुक्छ, फेरी सामर्थ्य छ भने अपमान कसैले सही राख्दैन। त्यै मधेस वरपर चाणक्यले अपमान सहन नसकेर चन्द्र गुप्त उत्पादन गरेको कथा धेरैले टिभीमा हेरको होलान्।  बुद्धलाई पनि अनेकौ मानिसहरु टाठा बाठा ब्राह्मण क्षत्रियहरुबाट अपहेलित भएर बाँचेको स्वीकार थिएन, उनि आफै भगवान कहलाए। उनलाई के-को इन्द्र, के-को महादेव! मधेस पनि त्यस्तै हुनसक्छ, परिचय क्षणिक हुन्छ। कुनै बेला भारत थिएन, धेरै अघि नेपाल थिएन यो संसार थिएन, ब्रह्माण्ड थिएन। यो अपमानजनक गाली गलौजहरुलाई तिरस्कार गरौ, प्रयास गरौ। जात, जाती, बर्ण वा लिङ्गको आधारमा हुने तुच्छ वाकयुद्द बन्द गरौ, दण्डित गरौँ। समाज पक्कै दोषी थियो र हामीले जान आन्जान सिक्यौ होला, तर यो समाजलाई फेरी दोस लगाउने औकात हाम्रो छैन, किन कि यो समाज हाम्रो हो।

Advertisements